
सशस्त्र प्रहरी बलको मुख्यालयले ०८१ सालमा गुल्म कमाण्ड गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको पूर्वानुमान सूची प्रकाशित गरेको छ ।
समान अवसर प्रदान गर्ने नीति संगठनले लिएबमोजिम मंगलवार सबै युनिटलाई सूची पठाइएको सशस्त्रका सहायक प्रवक्तासमेत रहेका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
जसअनुसार सशस्त्रका अनाश्रित तथा आश्रित गुल्म कमाण्डमा ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा गरी जम्मा ६० जना सशस्त्र डीएसपीको नामावली प्रकाशित गरिएको छ ।
‘प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय जेष्ठताका आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका डीएसपीहरूको पूर्वानुमान सूची तयार गरिएको हुँदा संगठनले तर्जुमा गरेका नीतिलाई सबैले आत्मासाथ गरी प्राप्त जिम्मेवारीलाई इमान्दारी पूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयको विश्वास छ,’ सशस्त्रले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एफपीयू मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्षभन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको पाइएको छ ।
‘यस्तै एकपटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका डीएसपीहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान सूची तयार गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसैगरी पूरा अवधि कमाण्ड नगरेका डीएसपीहरूलाई समेत कमाण्ड गरेको अवधिका आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो । पूर्वानुमान सूची प्रकाशन गर्ने नीतिपछि कमाण्ड जान अस्वस्थ प्रतिस्पर्धा, बाह्य दबाब र कोही कमाण्ड गरिरहने, कोही कमाण्डबाट बन्चित हुने अवस्थाको अन्त्य भएको छ ।’