
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा ‘डेडिकेटेड’ लेनसहितको बस सेवा सञ्चालनमा ल्याइएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज रत्नपार्कको शान्ति वाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गरेका हुन् ।
बिहीवारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपरान्ह ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन् ।
काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ ।
निर्धारित समयका लागि ४० सिट क्षमताका २५ बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिए ।
कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब दुई घण्टा लाग्दै आएको छ ।
द्रुत बस सेवा सञ्चालन भएपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ ।
रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ । त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ ।
“शहरी क्षेत्रको यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ, उपत्यकाको यातायात क्षेत्र सुधारको जमर्को शुरु गरिएको छ”, उनले भने । सरकारले गत फागुन ३० गते सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कार्यालय समयमा ती बस प्रत्येक एक/एक किलोमिटरको फरकमा गुड्नेछन् ।