०९ साउन २०८३, शनिबार

चितवनमा जङ्गल अतिक्रमण गरेर बनाइएका २२ टहरा निकुञ्जले भत्कायो

असोज ३, २०८०
चितवन
चितवनमा जङ्गल अतिक्रमण गरेर बनाइएका २२ टहरा निकुञ्जले भत्कायो
फाइल फोटो

चितवनमा अतिक्रमण गरी बनाइएका २२ टहरा चितवन राष्ट्रिय निकुञ्जले भत्काएको छ ।

माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् । पहिलेदेखि नै सोही ठाउँमा रहेका काजीमान प्रजाको एउटा घरटहरा भने निकुञ्जले भत्काएको छैन । 

मध्यवर्ती क्षेत्रको जङ्गल अतिक्रमण गरेर विभिन्न ठाउँबाट आएका व्यक्ति बसोबास गर्ने क्रम बढ्दै गएको र उनीहरूलाई घरटहरा नबनाउन पटकपटक आग्रह गर्दासमेत नरोकिएपछि बाध्य भएर भत्काउनु परेको तिवारीले बताए । टहरा निर्माण गरी वरपरको क्षेत्रमा खेतीपातीसमेत गर्न थालेको उनको भनाइ छ । 

विगतका वर्षहरूमा पनि टहरा बनाउने कार्य भएपछि निकुञ्जले पटक–पटक भत्काउँदै आएको थियो । ​

कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरूले टहरा बनाएको तिवारीले जानकारी दिए । अन्यत्र घर भएकाहरूले समेत टहरा बनाएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्