२६ असार २०८३, शुक्रबार

आन्दोलनलाई शान्तिपूर्ण बनाउने विषयमा गृहमन्त्रीसँग शिक्षकहरूको छलफल

असोज ४, २०८०
काठमाडौं
आन्दोलनलाई शान्तिपूर्ण बनाउने विषयमा गृहमन्त्रीसँग शिक्षकहरूको छलफल

सरकार र आन्दोलनरत शिक्षकबीच छलफल भएको छ । आन्दोलनरत शिक्षकहरूले शान्ति सुरक्षाको विषयमा बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । 

आन्दोलनको पहिलो दिन केही असामान्य परिस्थिति बनेपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गृहमन्त्रीसँग छलफल भएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले लोकान्तरलाई जानकारी दिए । गृहमन्त्री श्रेष्ठसँग भएको भएको छलफलमा आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा जोड दिइएको उनले बताए ।

उनले सरकारसँग वार्ता भएको भन्दै प्रचार गरिएकोमा असन्तुष्टि जनाए । 'बाहिर वार्ता भनेर हल्ला फिजाइएको छ,' लोकान्तरसँग उनले भने, 'वार्ता होइन आन्दोलनलाई शान्तिपूर्ण बनाउने विषयमा कुराकानी भएको हो । आन्दोलन शान्तिपूर्ण रूपमा गर्ने कुरा भएको छ ।'

छलफलमा गृहमन्त्री श्रेष्ठले आन्दोलनका कार्यक्रम स्थगित गरेर सम्वादबाट समस्याको समाधान खोज्न आग्रह गरेका थिए । शिक्षकका प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका थिए । 

संसद्‌मा दर्ता शिक्षासम्बन्धी शिक्षा विधेयकप्रति असहमति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक महासंघले विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ । देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्