विभिन्न १७ बुँदे माग पूरा गराउन भन्दै शिक्षकहरू आन्दोलनमा गएपछि काठमाडौं महानगर भित्रका सरकारी स्कूलमा पठनपाठन ठप्प भएको छ ।
विद्यालय बन्द नगर्न महानगरले दिएको चेतावनी विपरीत शिक्षकहरू आन्दोलनमा होमिएका हुन् ।
मेयर बालेन शाहको निर्देशनपछि काठमाडौं महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति प्रकाशित गरी स्कूल बन्द नगर्न चेतावनी दिएका थिए ।
महानगरको विज्ञप्ति लगत्तै काठमाडौंका झन्डै २ दर्जन स्कूलका प्रधानाध्यापकले महानगरको निर्णय अवज्ञा गर्ने बताएका थिए ।
माग पूरा गराउन शिक्षकहरू आन्दोलनमा सहभागी भएपछि स्कूलमा पठनपाठन प्रभावित भएको महानगरका एक अधिकारीले जानकारी दिए ।
शिक्षक महासंघ काठमाडौं महानगरका अध्यक्ष राजेन्द्र अधिकारी, सचिव हेरम्बराज कँडेल लगायतले हस्ताक्षर गरेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । ‘पेशागत हितको लागि हामीहरू आन्दोलनमा छौं, महानगरले कारवाही गरे व्यहोर्न तयार छौं’ आन्दोलनमा सहभागी एक शिक्षकले लोकान्तरसँग भने । काठमाडौं महानगर भित्र ९० वटा सरकारी स्कूल छन् ।
शिक्षक महासंघको आह्वानमा भएको आन्दोलनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । देशभरबाट आएका शिक्षक काठमाडौंको माइतीघर मण्डलामा भेला भएका छन् । संसद् भवन नयाँ बानेश्वर अगाडि पुगेर धर्ना दिने महासंघले बताएको छ ।