
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताएका हुन् ।
अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उनको धारणा थियो ।
राष्ट्रपति पौडेलले नेपालमा दलितहरू वस्तीका कारण पनि पीडित बनेको बताउँदै भने–‘‘जहाँ जहाँ असुरक्षित वस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुवानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन् ।’’
राष्ट्रपति पौडेलले नेपालको संविधानअनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको बताए ।
दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताए ।
उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिए ।