०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

विद्यालय शिक्षा विधेयकमा शिक्षकका ११ सवाल समेटिने, रुष्ट बने राहत शिक्षक

असोज ६, २०८०
काठमाडौं
विद्यालय शिक्षा विधेयकमा शिक्षकका ११ सवाल समेटिने, रुष्ट बने राहत शिक्षक

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकार र विद्यालय शिक्षा विधेयकको विरोधमा रहेको शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रवार भएको वार्तामा ६ बुँदे सहमति भएको हो । 
सहमति पत्रमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधरले हस्ताक्षर गरेका छन् ।
सिंहदरबारमा भएको सहमतिसँगै शिक्षक महासंघको अगुवाइनमा भएको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको मर्यादाक्रम कायम गर्नेजस्ता बुँदा सहमति पत्रमा समावेश छन् ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विभिन्न ११ सवाल समेट्नेगरी सहमति भएको छ । संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने गरी दुबै पक्षले सहमति जनाएका हुन् । 
जसअनुसार शिक्षकको दश दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने र  माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने सहमति भएको छ । 

यस्तै प्रजातान्त्रिक एवं पेसागत आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तिभरण वा उपदान वा अन्य सुविधा प्रयोजनको लागि गणना गर्ने सहमति पनि भएको छ । 

यस्तै शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने,  विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने,  सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने सहमति  भएको छ । 

यसैगरी  शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने, योगदानमा आधारित निवृत्तिभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने  सहमति भएको छ । यसैगरी शिक्षकको निवृत्तिभरण प्रयोजनको लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने,  शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालीस वर्ष कायम गर्ने जस्ता सहमति पनि भएको छ । 

यसैगरी साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने सहमति गर्दै सोहीअनुसार विधेयककमा समेट्ने सहमति भएको छ ।
००००
तर, नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकार र नेपाल शिक्षक महासंघबीचको ६ बुँदे सहमति अस्वीकार गरेको छ । राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा सडक आन्दोलन जारी रहने शुक्रबार राति विज्ञप्ति जारी गरेर घोषणा गरेको छ । 
४० हजार शिक्षकको माग सहमतिमा नसमेटिएको राहत शिक्षकहरुको भनाइ छ । राहत शिक्षकहरुले स्थायी गरिनुपर्ने लगायतका माग गरेका छन् । 
‘...तथाकथित सहमति चार लाख शिक्षक कर्मचारीमाथिको भद्दा मजाक, धोखा, अपमान, आम शिक्षक कर्मचारीलाई गुमराहमा राख्ने र झारो टार्ने गरी सार्वजनिक भएको सहमति घोर आपत्तिजनक रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिको ठहर रहेकोले चालु सडक आन्दोलन यथावत् राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई सशक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गरिन्छ’, अध्यक्ष खेमराज अधिकारी र महासविच कुमार बजगाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सरकारले राहत शिक्षकको पेसागत स्थायित्वको सवाल शिक्षा ऐनमा प्रबन्ध गर्नुपर्ने पनि माग गरेको गरिएको छ । 
सरकारसँग वार्ताको सिलसिलामा महासंघका केही पदाधिकारीबाट सुनियोजित ढंगले सिर्जित परिस्थितिले सम्पूर्ण शिक्षक कर्मचारीको अपमान हुने र राहत शिक्षकको न्यायोचित स्थायी व्यवस्थापन नहुने अवस्था आएकाले आफूहरू वार्ता छाडेर बीचमै हिँडेको पनि विज्ञप्तिमा उल्लेख छ ।
००००
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुक्रबार पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो ।
 बिहिबारदेखि सुरु भएको बैठकमा शुक्रबार ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीति विषयमा आफ्ना धारणा व्यक्त गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  । बैठक आइतबार पनि बस्नेछ । 
००००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । 
यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो । 
००००
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ ।
विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरकाका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
००००
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् । 

त्यसक्रममा उनले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहीत उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने बताए ।
शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अपिल गरे । 

००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भू(राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताए । 
००००
बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । 
फरार भएकाहरू कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । सो झडपमा एक जनाको मृत्यु भएको थियो । 
००००
फूटपाथमा व्यापार गरी गुजारा गर्ने गरीब तथा निमुखालाई लखेटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध युवाहरूले तीन दिनदेखि उभिएर धर्ना दिइरहेका छन् ।

राष्ट्रिय सभागृहमा मंगलवार दिउँसो १ बजेदेखि शुरू भएको धर्ना शुक्रवार साँझ ७७ घण्टा पुग्दैछ । यति लामो समय धर्ना दिँदा पनि नगर प्रमुख बालेन साहले चासो नदिएपछि थप ४८ घण्टा यसैगरी धर्नालाई निरन्तरता दिने उनीहरूको तयारी छ ।
००००
नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ  । काठमाडौँको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
००००
सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै ४६ अर्ब अमेरिकी डलर लगानी गर्ने लक्ष्य तय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्