नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् ।
समाजवादी पेसागत कानून व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने बताए । स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।
समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए ।
मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै अध्यक्ष नेपालले जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे ।
वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिस्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो ।