
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँणलाई भेटेका हुन् ।
‘यस अघि पनि शेखर कोइरालाले खाँणलाई भेट्नुभएको थियो । शनिवार पनि बिहान ९ बजे केन्द्रीय कारागार गएर भेट्नुभयो’ स्रोतले भन्यो, ‘आधा घण्टा जति उहाँहरूबीच खाँणको मुद्दा, समसामयिक राजनीतिबारे कुरा भएको बुझेका छौं ।’
यस अघि ३१ साउनमा शेखरेले खाँणसँग डेढ घण्टा भेटघाट गरेका थिए ।
खाँणलाई बचाउन पार्टी संस्थापनले प्रभावकारी अग्रसरता नलिएको आरोप लागिरहेका बेला उनलाई भेट्न केन्द्रीय कारागारमा नेताहरूको लर्को लागिरहेको छ ।
कांग्रेस केन्द्रीय समिति, संसदीय दल र तरुण दलमा प्रभावशाली पकड भएका कारण खाँणप्रति सद्भाव राख्न नेताहरू नियमित कारागार पुग्ने गरेका छन् ।
कांग्रेसका नेताहरूले यस्ता भेटमा सान्त्वना दिने गरेको र नआत्तिन भन्दै आएको बताइन्छ ।
यस अघि सरकारका मन्त्री र कांग्रेसका दर्जनौं नेता खाणँलाई भेट्न कारागार पुगिसकेका छन् ।