
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् ।
मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथान मन्दिरलाई सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् ।
स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताइन् ।
भानु–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उनी सदैव लागिरहेको उल्लेख गरे ।
‘उहाँको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उहाँ विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भन्नुभएको थियो । आज राष्ट्रपतिका रुपमा उहाँको भ्रमणले हामीलाई उत्साह थपेको छ,’ उनले भने ।
आजै राष्ट्रपति पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन पनि गरे । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृहनजिक निर्माण गरिएको बीपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बीपी कोइरालाको सालिक अनावरण गरे ।
सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौंस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भीआईपी पार्किङस्थलको व्यवस्था छ ।