
क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् ।
क्यानको बाग्मती अध्यक्षहुँदै पारस केन्द्रीय सचिव पदमा निर्वाचित भएका हुन् ।
शुरूमा पारसले एकैपटक केन्द्रीय अध्यक्ष नै ताकेका थिए । तर त्यो छोडेर पछि उनी बाग्मती संघको अध्यक्षहुँदै केन्द्रीय सचिवमा निर्वाचित भएका छन् ।
क्यानको नेतृत्वमा पुग्ने हुटहुटीकै कारण सक्रिय क्रिकेट जीवन त्यागेका पारस दुई वर्षमै केन्द्रीय नेत्तृत्वमा आएका हुन् ।
बाग्मतीको अध्यक्षमा जितेपछि पारसले अध्यक्ष चतुरबहादुर चन्दलाई चुनौती दिने तयारी गरेका थिए ।
तर केन्द्रको निर्वाचनसम्म आइपुग्दा पारस चन्दकै प्यानलबाट सचिवमा निर्वाचित भएका हुन् । अध्यक्षमा शनिवार बिहान नै चन्द सर्वसम्मत भएका थिए ।

सचिवको मतगणनामा शुरूदेखि नै कडा टक्कर देखिएको थियो । पारसले शुरूवाती २५ मत गणना गर्दा जम्मा एक मतको अग्रता लिएका थिए । तर अर्को २५ मत गणना गर्दा ७ मतको अग्रता लिएका थिए । ५० मत गणनामा पारसले ८ मत अग्रता लिए ।
६० मत गणना गर्दा पारसले ३७ र प्रशान्तले २३ मत ल्याएका थिए । ७५ मत गणना गर्दा पारसले जित पक्का गरेका हुन् । ७५ मतमा पारसले ४३ र प्रशान्तले ३२ मत ल्याएका थिए ।
यो १५ मतमा भने पारसले ६ ल्याउँदा थप्दा प्रशान्तले ९ मत थपे । बाँकी १० मतमा पारस र प्रशान्त दुवैले ५-५ मत थप्दा पारस ४८ मत ल्याएर ११ मतले विजयी भए । प्रशान्तले ३७ मत प्राप्त गरे । पारसले पराजित गरेका प्रशान्त पूर्वकेन्द्रीय सचिव एवं केन्द्रीय सदस्य हुन् ।
भद्रगोल र बेथिति चिर्नुपर्ने चुनौतीका चाङ
राष्ट्रिय टोलीका कप्तान र खेलाडीको रुपमा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन पारसको महत्वपूर्ण भूमिका रहेको छ । कमजोर व्यवस्थापन र सीमित स्रोत साधनका भरमा नेपालले वर्षौसम्म हुटहुटी देखाएरै क्रिकेट खेल्दै आएको छ । तर क्रिकेटको राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै परिवेश बुझेका पारसजस्ता खेलाडी नेत्तृत्व तहमा आउनु आफैंमा सकारात्मक पाटो हो । तर मैदान, प्रतियोगिता, सेवा सुविधा, एक्सपोजरजस्ता आधारभूत विषयमै अल्झिनुपरेको स्थितिबाट माथि उठाउनुपर्ने ठाउँमा अब पारसले खुट्टा राखेका छन् । सेवा–सुविधाभन्दा खेलाडीको हुटहुटीले मात्रै नेपाली क्रिकेटले उचाइ लिएको देखिन्छ । एकदिवसीय (ओडीआई) वरीयता, क्रिकेटका विश्वकप क्वालिफायर, एसिया कप छनोटमा भारत पाकिस्तानसँगका बहादुरी खेल राज्य र क्यानको लगानीभन्दा धेरै खेलाडी र क्रिकेटलाई माया गर्ने समर्थकको देन हो भन्दा फरक पर्दैन ।
तर क्रिकेटलाई गहिरो गरी बुझेका पारसजस्ता व्यक्ति क्रिकेट व्यवस्थापनको बोर्डमा आउनु उनीमाथि उत्तिकै चुनौती पनि भएको विश्लेषण गर्न गाह्रो छैन । किनकि, कमजोर पूर्वाधार र व्यवस्थापनको अभावमा हुटहुटीले मात्रै क्रिकेटको संस्थागत विकास हुँदैन ।
लगातार दोस्रोपटक चतुरबहादुर चन्द अध्यक्ष हुँदा पारस उनकै प्यानलबाट सचिवमा निर्वाचित भएका छन् । चन्द राजनीतिक रुपमा नेपाली कांग्रेससँग आबद्ध छन् । उनी अहिले पनि कांग्रेसको बैतडी जिल्ला सभापति हुन् । यसैले क्रिकेटलाई पार्टीगत छायाँबाट माथि उठाउन पारसले अब चन्दलाई डोहोर्याउनुपर्ने हुन्छ । तर उल्टो पारस चन्दकै बाटोमा डोहोरिए भने उनी पनि क्रिकेट संस्थाको फोहोरो राजनीतिमा डुब्नेछन् । पद र प्रतिष्ठानको भोकमा यसअघिका अध्यक्षले जस्तै मनोमानी र विकृति भित्र्याउन सक्ने जोखिमबाट भने पारसले बच्नुपर्नेछ ।
क्यानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन नसकेको, आर्थिक रुपमा पारदर्शी नभएको, राखेपले मान्यता नदिएकोजस्ता विवादमा चन्द नेतृत्वको क्यान फस्न पुगेको थियो । चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले साढे तीन वर्षसम्म क्यानलाई निलम्बन गरेको थियो । दर्शकको माया र नेपाली खेलाडीको खेलप्रतिको लगावका कारण आईसीसीले निलम्बनमा पनि नेपाललाई निरन्तर सहयोग गर्दा नेपाल क्रिकेटमा धेरै पछाडि पर्नबाट बचेको थियो ।
निलम्बन फुकुवा भएपछि चन्दले राजनीतिक हस्तक्षेप र अपारदर्शिता हटाउन केही कदम चाले पनि त्यो पर्याप्त भने भएको छैन । राजनीतिक आधारमा आन्तरिक क्रिकेटमा पहुँच र प्रभाव बढाए पनि चन्दको आईसीसीसँग प्रभावशाली पहुँच विस्तार गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तोमा अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाएका पारसको साथ लिन सक्दा चन्दले आफूलाई पनि कुशल व्यवस्थापकमा उभ्याउन सक्छन् । होइन पारसलाई अस्वस्थ राजनीतिमा धकेल्न खोजे भने उनैलाई उल्टो चुनौती हुनेछ ।
क्रिकेटका भद्रगोल र बेथितिलाई पार लगाउन नसकेकोमा ‘क्यान’ सधैं ‘नट क्यान’का रुपमा परिचित छ । तर पारसलाई क्रिकेटको विकासमा सँगै लिएर हिँड्न पाउने अवसर चन्दलाई चुनौतीभन्दा अवसर बढी हो ।