
दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ ।
गत शुक्रवार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको हो ।
युट्युब ट्रेन्डिङमा टेलिसिरियल ‘जुठे’ र ‘जाले रुमाल फाट्यो’बोलको गीतलाई पछि पारेको चलचित्रको भ्युज ३० लाख हाराहारी पुगिसकेको छ ।

गतवर्ष असोजमा प्रदर्शनमा आएको ‘दुई नम्बरी’ले हलमा राम्रो व्यापार गरेको थियो । दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको चलचित्रमा दयाहाङ र सौगातका साथमा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय छ ।
ग्रामीण परिवेशमा निर्माण भएको चलचित्रले दुई मिल्ने सिकारी साथीको कथा पेस गर्छ ।
यो चलचित्र युट्युबबाट सार्वजनिक भइरहँदा हलमा दीपेन्द्रकै निर्देशन र दयाहाङको शीर्ष भूमिका रहेको चलचित्र ‘नाङ्गो गाउँ’ प्रदर्शन भइरहेको छ ।
यस चलचित्रले पनि राम्रो व्यापार गरिरहेको छ ।