
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।
राष्ट्रकवि स्व घिमिरेको १०४औं जन्मजयन्तीका अवसरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले त्रिपाठीलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन् । ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’को राशि एक लाख रुपैयाँ रहेको छ ।
राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उनको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसअघि उनले विसं २०३४ मा मदन पुरस्कार प्राप्त गरेका थिए ।
प्राडा त्रिपाठीले नेपाली साहित्यको विशिष्ट प्रतिभा राष्ट्रकविको नाममा स्थापित पुरस्कार पहिलोपटक आफूले पाउँदा ज्यादै भाग्यमानी महसुस भएको बताए ।
उनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रलाई अगाडि बढाउन राष्ट्रकवि घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।