
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले वार्तामा बोलाउँदा पनि नआएको भन्दै अभियन्ता ई (ईशान अधिकारी)को समूहप्रति आक्रोश पोखेका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमार्फत सोमवार आक्रोश पाखेका हुन् ।
विगत केही दिनदेखि केही अभियनता आन्दोलनमा हुनु हुन्थ्यो, कुरा सुन्न म उहाँहरू उभिरहेको ठाउँमै गएँ । वार्ता गरौं, यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरू संवादमै आउन खोज्नुभएन,’ उनले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने हाम्रो बुझाइ छ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौं ।’
मेयर शाहले ई समूह संवादमा नआएपछि उनीहरूका नेतासँग पो वार्ता गर्नुपर्ने हो कि भन्दै व्यंग्य गरेका छन् । ‘के वार्ता अब हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने ?’, उनले प्रश्न गरेका छन् ।
आइतवार मात्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै ई अभियन्तासँग मेयर शाहले वार्ता गर्नुपर्ने बताएका थिए ।
यसको भोलिपल्ट सोमवार मेयर शाहले नेतासँग वर्ता गर्नुपर्ने हो र ? भन्दै प्रश्न गरेका छन् । यो महामन्त्री थापाप्रति लक्षित देखिन्छ ।