
अभियन्ता ‘ई’काे धर्नामा ऐक्यबद्धता जनाइरहेका फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको अगाडि सुतेका छन् । ‘ई’को आन्दोलन बुधवार पनि समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू सडकमा सुतेका हुन् ।

महानगरका मेयर बालेन शाहलाई आफ्ना माग पूरा गर्न दबाब दिने उदेश्यले उनीहरू सडकमै सुतेका हुन् ।
‘ई’ विगत ८ दिनदेखि धर्नामा छन् । मंगलवारदेखि फुटपाथ व्यवसायीले मैदानमै आएर समर्थन जनाएका हुन् ।
यसैबीच, तीन व्यवसायी संघठनले विज्ञप्ति जारी गर्दै मेयर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ‘ई’ पक्षधर व्यवसायी र काठमाडौं महानगरबीचको मंगलवारको वार्ता निष्कर्षविहीन बनेको छ ।
दुई पक्षबीचको वार्तामा चार बुँदे समझदारी पत्रको ड्राफ्ट गरिए पनि महानगर मेयर शाहले ड्राफ्टमा उल्लेखित केही विषयमा असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको वार्तामा सहभागी एक अभियन्ताले बताए ।