२७ असार २०८३, शनिबार

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

असोज ११, २०८०
कञ्चनपुर
गुनासो पेटिकामा गुनासो आउन छोड्यो

 कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । 
    
सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् । 
    
सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश गर्ने मूल ढोकाको छेउमै गुनासो पेटिका राखिएको छ । तर उक्त गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो ।  सेवाग्राहीको गुनासो सम्बोधन गर्नका लागि गुनासो पेटिका कार्यालयमा राखिए पनि पछिल्लो समय प्रयोगमा आउन छोडेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिए । 
    
भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख शिवराज भट्टले पनि कार्यालयमा सेवाग्राहीको गुनासो सुन्नका लागि गुनासो पेटिका राखिएको भए पनि गुनासो पेटिका प्रयोगविहीन बनेको बताए । नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरुका गुनासा सङ्कलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले हरेक सरकारी कार्यालयमा  गुनासो पेटिका राखेका भए पनि प्रविधिको बढ्दो प्रयोगले गुनासो पेटिकामा गुनासो आउन छोडेका हुन् ।
    
प्रविधिको विकास भएसँगै सेवाग्राहीले अन्य माध्यमबाट आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिका खाली भएको कार्यालय प्रमुख बताउँछन् । कञ्चनपुरका सरकारी कार्यालयमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउन पूर्णरुपले बन्द भएको छ । 
    
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गुनासो पेटिकामा नभएर फोन प्रत्यक्ष भेटेर सेवाग्राहीका गुनासो आउने गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्