
एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार दिउँसो साढे २ बजे बल्ल उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित भएको छ ।
बुधवार साँझ नै उम्मेदवारी मनोनयन भए पनि बिहीवार दिउँसो बल्ल निर्वाचन कमिटीले २४५ वटा पदमा परेको उम्मेदवारीको प्रारम्भिक विवरण प्रकाशित गरेको हो ।
यो सूचीउपर उजुरी, छानबिन, पुन:प्रकाशन, नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि साँझ ६ बजेबाट मतदान शुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।
यसअघि अध्यक्षमा उम्मेदवारी दिए पनि केशवराज पाण्डेको उम्मेदवारी दर्ता नभएको जानकारी मैनालीले दिएका थिए ।
तर, निर्वाचन कमिटीले निकालेको प्रारम्भिक सूचीमा ३ नम्बरमा पाण्डे नाम छ । निर्वाचन अधिकृतले उनको नाममा हस्ताक्षर गरेर उम्मेदवारी कायम नहुने जनाएका छन् ।

‘चार जनाको मात्रै उम्मेदवारी परेको हो । केशव पाण्डेको नाम भुलवश आएको हो, त्यसैले यो सूचीमा उहाँको नाममाथि मैले नै हस्ताक्षर गरेको हुँ । अध्यक्षमा उहाँको उम्मेदवारी छैन’, मल्लले भने, ‘अब दाबीविरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि २/३ घण्टापछि मतदान शुरू हुन्छ ।