
वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रवक्ता रेग्मीका अनुसार उनले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि ३ लाख पाँच हजार रुपैयाँ लाग्ने बताएका थिए ।
साथै उनले दुबई पुगेपछि बाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।
थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।