
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
आयोगले बाराको बारागढी गाउँपालिकाका नबि अख्तर मियाँ धोबी र दोलखाको शैलुङ्गेश्वर गाउँपालिकाका कल्याणी सुवेदीविरुद्ध शुक्रवार विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराका खरिदार रामविश्वास साहले धोबीसँग जग्गा रजिष्ट्रेशनका लागि घुस लिई भ्रष्टाचार गरेको आयोगको दाबी छ ।
विशेष अदालत काठमाडौंमा दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा उनै धोबीले आयोगबाट भएको अनुसन्धानको क्रममा गरिएका व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगले धोबीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
यस्तै, आयोगले सीमा प्रहरी चौकी टिमुरे रसुवामा कार्यरत प्रहरी कर्मचारीसमेतले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा बयान फेर्ने कल्याणी सुवेदीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार राजस्व चुहावट मुद्दामा सुवेदीले ‘सुन बिक्री गर्न ल्याउँदा राख्न दिएकोमा राखिदिएको’ भनी बयान दिएकी थिइन् । त्यसपछि आयोगले उनलाई प्रतिवादी नबनाइ सरकारी साक्षीको रुपमा विशेष अदालतमा पेश गरेको थियो । तर उनले आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजात ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले सुवेदीविरुद्ध ६ लाख ७७ हजार ५९९ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।