
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किँदै छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज बिहान स्वदेश फर्किन लागेका हुन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुका साथै एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए । भेटका क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।