
सुर्खेतमा आठ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत आठ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका हुन् । उनी विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले लोकान्तरलाई जानकारी दिए ।
मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ हुन् । उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।
बालकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले होस्टेल घेराउ गर्दै तोडफोड गरेपछि बिहान केही बेर तनाव भएको थियो । उनीहरूले होस्टेलमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । आगजनीबाट होस्टेलमा सामान्य क्षति भएको सापकवटाले बताए । उनका अनुसार भीडलाई नियन्त्रण लिन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो ।
अहिले भने स्थिति सामान्य रहेको उनले बताए । बालकको शव पोस्टमार्टमका लागि अस्पताल लगरिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । अनुसन्धानका क्रममा होस्टेल सञ्चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।