१० साउन २०८३, आइतबार

पशुपतिको जलहरी बनाउँदा सुन हिनामिना– मिलेमतोमा मुचुल्का नै सच्याइयो

असोज १४, २०८०
काठमाडौं
पशुपतिको जलहरी बनाउँदा सुन हिनामिना– मिलेमतोमा मुचुल्का नै सच्याइयो
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्य सचिव डा. मिलनकुमार थापाको मिलेमतोमा नै भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायरा गरेको छ । स्टोरकिपर अरुण कुमार श्रेष्ठ समेत ३ जनाविरुद्ध १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो कायम गर्दै आइतवार विशेष अदालतमा मुद्दा दायरा गरिएको छ ।

२०७७ फागुन ११ गते राति ८ बजे गरिएको मुचुल्कामा  २०७७ माघ २९ गतेदेखि विभिन्न मितिमा भएका मुचुल्काअनुसार प्राप्त हुन आएका सुनलाई रुद्रगाडेश्वरस्थित नेपाली सेनाको सुरक्षामा श्रीपशुपतिनाथको सुनको पिठिका (जलहरी) निर्माण भई रहेकोमा आजका मितिमा उक्त सुनको पिठिका जलहरी निर्माण कार्य सम्पन्न भई जलहरीका सामानहरूको जोखतौल गरी सम्पन्न भएको र जलहरी बनाएर टुक्राटाक्री अवस्थामा १०,९७६ ग्राम सुन बाँकी रहेको भनी दुवैजनाले मुचुल्कामा उल्लेख गरेका थिए ।

तर, सोही दिन २०७७ फागुन ११ गते राति ११ बजे गरिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई श्री पशुपतिनाथको मन्दिरमा अपर्ण गरियो भनी मुचुल्का टुंग्याइसकिएको अवस्थामा रिङ्गसमेत जलहरीमा नलगाए पनि सोही मुचुल्कामा बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाई जलहरीमा लगाइयो भनी वाक्यांश थप गर्न डा. प्रदीप ढकालले लगाएको भनी कोषका सह-सहायक बासुदेव रिमालले कागज गरेका छन् ।

२०७७ फागुन ११ गतेसम्म रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाल्दा तथा राख्दा समेत सम्पूर्ण मुचुल्काहरू गरिएपनि रिङ बनाउने क्रममा २०७७ फागुन ११ गतेपछि कुनै पनि मुचुल्काहरू नगरी अनाधिकृत रूपमा रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाली प्रयोगमा ल्याएको पाइएको छ ।

सुनको हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा १४९१.७१८ ग्राम घटाई चाँदी र तामाको मात्रा बढाएकोमा क्रमशः १०४१ ग्राम तथा ७३२.६२ ग्राम साथै मिति २०७७ फागुन २० गते सुनको जलहरी निर्माणका कार्यटोली सदस्यहरूलाई जानकारी नै नदिई उक्त दिन कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापा, बिसेट नाइके अरुणकुमार श्रेष्ठसमेत भई रिङ बनाउन भनी मुचुल्कासमेत नगरी अनाधिकृत रूपमा रुद्रगाडेश्वर ज्यासलमा सेफभित्र रहेको सुन बाहिर निकाली शिल्भर रोलिङ्ग सर्भिसमा लगी रिङ र पेच किला समेत बनाएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी कार्यटोलीका अन्य सदस्यहरूलाई समेत सूचना तथा जानकारी समेत नदिई २०७७ फागुन २० गतेकै दिन विना मुचुल्का रिङ तौलसमेत नगरी जलहरीमा समेत राखेको अनुसन्धानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ ।

२०७७ फागुन २० गतेकै दिन रिङ बनाई बाँकी रहेको सुन के कति परिमाण रहेको भन्नेसम्बन्धी नापतौल तथा मुचुल्का समेत नगरी सुनको हिनामिना गर्ने नियतले अपारदर्शी ढंगले राखेको कुरा अभियोगपत्रमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागबाट प्राप्त पत्रमा गलान गर्ने कार्यमा ०.०३०% पाता तथा चक्की निर्माण कार्यमा ०.०२०% र पोली (पाता चक्की सफाई कार्य) मा ०.०२२% गरी जम्मा ०.०.७२% सामान्य जर्तीको मात्रामा सुन प्रयोग हुने भन्ने समेत खुलेको उल्लेख छ ।

अनुसन्धानको क्रममा नेपाल गुणस्तर तथा नापतौल विभागमा कार्यरत निरीक्षक विशाल जिरेलसमेतले अख्तियारलाई उपलब्ध गराएको तथ्याङकहरूको आधारमा प्रतिवेदन तयार गरिएको हो  ।

प्रतिवेदनमा उल्लिखित १.५६५६ केजी शुद्ध सुनको अन्तर वास्तविक हो, यसबाट वास्तविक शुद्ध सुनको परिमाण यकिन गर्न सकिन्छ भन्ने समेतको व्यहोरा खुलाई कागज गरेको आधारमा सुन हिनामिना भएको भन्दै अभियोगपत्र दायर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्