२५ जेठ २०८३, सोमबार

स्थानीयको अवरोधका कारण मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

असोज १६, २०८०
रूपन्देही
स्थानीयको अवरोधका कारण मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाबारे बुटवलमा छलफल भएको छ । औद्योगिक क्षेत्र आयोजनाको कामलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे सोमबार बुटवलमा छलफल गरिएको हो ।

औद्योगिक क्षेत्र बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।

आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गरिएको थियो । तर स्थानीयको अवरोधका कारण औद्योगिक क्षेत्रको घोषणा र आयोजनाको शिलान्यास भएर पनि काम अघि बढ्न सकेको छैन । 

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरूबाट भएको पहल सकारात्मक भए पनि सङ्घीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताए । सरकारले सबै प्रदेशमा आर्थिक विकासको सन्तुलन मिलाउने उद्देश्यका साथ घोषणा गरेको औद्योगिक क्षेत्रमध्ये मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्पन्न गरी स्थापनाको शुरूआत भएको हो ।

सरकारले रुपन्देहीका साविक बुटवल नगरपालिका, टिकुलीगढ, अनन्दवन, फार्साटिकर (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गतका क्षेत्रलाई मोतिपुर औद्योगिक क्षेत्रका रूपमा घोषणा गरी काम अघि बढाएको थियो । 

तर पछिल्लो समय औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने, औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गामा बसोबास गरेका स्थानीयले बसोबास नछाडेपछि निर्माण रोकिएको छ । सरकारले २०७२ साल चैत १ गते यी क्षेत्रमा पर्ने आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गर्दै औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै लागि बुटवल उपमहानगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले २०२२ सालदेखि बसोबास गरिरहेकाहरूको समस्या समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोन प्रविविधद्वारा जग्गा नापजाँच गरिएको जनाउँदै सोहीअनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको चासो र समन्वयअनुसार अगाडि बढाउनका लागि स्थानीय प्रशासन तयार रहेको बताए । कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतिपुर औद्योगिक क्षेत्रको जानकारीसहितको प्रस्तुति गरेका थिए। रासस
 

salt training

कमेन्ट गर्नुहोस्