
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको अर्थतन्त्रको समस्याबारे छलफल गर्न बोलाइएको बैठकमा उपस्थित नभएको भन्दै अर्थमन्त्री प्रकाश शरण महतको आलोचना गरेको छ ।
मंगलवार बसेको अर्थ समिति बैठकमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले संसदीय समितिबाट अर्थमन्त्री भाग्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
संसदीय समितिका आउने भनेर महत दोस्रो पटक अनुपस्थित भएका हुन् । ‘मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा छ, जनता चिन्तित छन् । देशको अवस्था कहाँ छ र समस्याको समाधान कसरी हुन्छ भन्ने विषयमा छलफल गर्ने बैठकमा मन्त्री आउनुभएन’ पौडेलले भने, ‘यति महत्वपूर्ण विषयमा छलफल गर्ने समितिको बैठकभन्दा महत्वपूर्ण अर्को के काम पर्यो जान्न चाहन्छु ।’
‘मुलुकको विद्यमान आर्थिक अवस्था र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल’ गर्ने कार्यसूचीसहित मंगलवार बैठक राखिएको थियो ।
संसदीय समितिलाई पटक पटक वेवास्था गरेको भन्दै अन्य सांसदले पनि महतको आलोचना गरेका छन् । एमाले उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्रको वास्तविक अवस्थाबारे समितिले अर्थसँग सरोकार राख्ने सरकारी निकाय र विज्ञसहित बहस चलाउनु पर्ने सुझाव राखेका छन् ।