
बैंकक–थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल)मा मङ्गलवार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गरेका छन् । उनले यस पहिले उक्त घटनामा तीन जनाको मृत्यु भएको भनी आएको समाचारको खण्डन गर्दै एक व्यक्तिको मात्र मृत्यु भएको बताएका छन् । युथानाले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मृतक चिनियाँ नागरिक रहेको खुल्न आएको छ ।’
आक्रमणमा ६ जना घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए । गोली लागेकामध्ये एक जनाबाहेक सबै महिला थिए ।
गोली हानेको आरोपमा १४ वर्षीय किशोर पक्राउ
रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबूक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
भिडियो फुटेजमा कालो सर्ट, चस्मा र अमेरिकी झण्डा अङ्कित टोपी लगाएका एक लामो कपाल भएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको छ ।
प्रधानमन्त्री श्रेता थाभिसिनले आफूले स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
‘अहिले मेरो लागि सबैभन्दा बढी चासो सबै नागरिकको सुरक्षा हो,’ उनले एक्स (ट्वीटर) मा लेखेका छन् ।
उनले भने, ‘म सबै अधिकारीहरूलाई सबै सुरक्षित हुन सकून् भन्नका लागि स्थितिको निगरानी गर्न आग्रह गर्दछु ।’