
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार सोलार पम्पिङ खानेपानी निर्माण योजनाको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष घर्तीसहित १३ जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा झुट्टा बिल भरपाई बनाएर भुक्तानी गर्न नमिल्ने ४ लाख ६६ हजार ४८८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौं) कृष्णबहादुर घर्ती, इन्जिनियर नवीन डाँगी, सव–इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध ४ लाख ६६ हजार ४८८ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।
यस्तै आयोगले घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगीविरुद्ध पनि सोही बराबरको बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।
यस्तै आयोगले तत्कालीन उपाध्यक्ष घर्ती, वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई, वडा सदस्यहरू टीका विक तथा गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।