३० जेठ २०८३, शनिबार

सांसद र सदन भारदारी सभाजस्तो, पार्टीका नेताको हालीमुहाली छ : अध्यक्ष साह

असोज २३, २०८०
काठमाडौं
सांसद र सदन भारदारी सभाजस्तो, पार्टीका नेताको हालीमुहाली छ : अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले युवा र विद्यार्थीलाई विदेश पलायन होइन समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गरेका छन् । देश छाडेर भाग्ने महान् र यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखिएको भन्दै त्यसलाई बदल्न जरुरी रहेको उनले बताए । 'देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ । यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस्,' उनले भने । 

जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उनले भने, 'विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।'

वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गरे । 

जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिए। उनले भने, 'नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।'

सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भने, 'नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।'

नेता साहसँग मधेसी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव, नेकपा (माओवादी)को केन्दीय सदस्य, तत्कालीन नेकपाको मधेस प्रदेश अध्यक्ष र नेकपा (एमाले) स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ । सांसद साहले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका क्रममा नौ वर्ष भूमिगत र एक वर्ष बेपत्ता जीवन बिताभएका साहले कानुन, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए । 

जनप्रतिनिधि कानुन निर्माणबाहेकका कार्यमा संलग्न हुनुहुन्न भन्नेहरू अयोग्य र बेइमान भएको तर्क गर्दै उनले दलीय प्रणाली भएको मुलुकमा संसद्ले बजेट र नीति तथा कार्यक्रम बनाउँछ भने सरकारको कार्यान्वयन गर्ने जिम्मेवारी भएको स्पष्ट गरे । 'हामी नागरिक सर्वोच्चतालाई सम्मान गर्छौं, कुन कार्यक्रम कहाँ आवश्यक र प्रभावकारी छ भनेर हेर्ने काम सदन र सांसदकै हो, त्यो उनीहरूले नगरे कसले गर्छ त,' उनले भने । 

जनताका प्रतिनिधिको सर्वोच्चता र निर्वाचित व्यक्तिको नेतृत्व कायम गर्दै कानुन निर्माणमा सांसदलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विधेयकका हरेक दफा र शब्दमा दलको ह्वीप लाग्ने प्रवृत्तिले गुणस्तरीय कानुन निर्माण हुन नसकेको उनले भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्