
नेपाल लाइफ क्यापिटलले जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शेयर बजार जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको क्यापिटलले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा भएको ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयक कार्यक्रममा १०८ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवीन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्वबारे प्रकाश पारेका थिए ।
उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए ।
त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतीकरण गरेका थिए ।
उनले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिएका थिए ।
उनले धितोपत्र बजारमा हुने जोखिम, लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिएका थिए ।
कार्यक्रमको बीचमा प्रश्न–उत्तर सत्र पनि भएको कम्पनीले जनाएको छ ।
नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक/एक गरी सहभागीहरूको जिज्ञासाको जवाफ थिए ।
यसबाहेक, उनले सहभागीहरूलाई डिम्याट, ब्रोकर, शेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी दिएका थिए ।
सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरू आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो ।
करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ शेयर बेच्ने वा दोस्रो बजारमा थप शेयर कसरी किन्ने भन्ने बारे जानकारी नरहेको तथ्याङ्कले देखाएको छ ।