
तीनकुने गैरीगाउँमा भएको सामूहिक हत्याका अभियुक्त सन्जय भण्डारीले आफूले काठमाडौंका विभिन्न ठाउँमा हत्या गरेको बताएका छन् ।
सरकारी वकिलको कार्यालयले शुक्रवार काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोजनमा रहेको बयानअनुसार भण्डारीले काठमाडौंसहित ९ ठाउँमा हत्या गरेको बताएका छन् ।
उनले बयानमा रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न व्यक्तिको हत्या गरेको बताएका छन् ।
यस्तै उनले बयानका क्रममा साथीलाई पनि मार्ने योजना बनाएको बयानमा बताएका छन् ।
भण्डारीले गत भदौ २९ गते राति तीनकुनेमा रहेको काठको गोदाममा रहेका ४ जनाको हत्या गरेका थिए । प्रहरीले सीसीटीभीको आधारमा उनलाई भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
उनले प्रहरीलाई आफूले अन्य व्यक्तिको पनि हत्या गरेको बताउँदै आएका छन् । तर त्यसलाई पुष्टि हुने प्रमाणहरू फेला नपरेको प्रहरीले जनाएको छ ।