
क्यालिफोर्निया– इजरायलमा हमासले हालै गरेको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो)ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । ‘आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन’ भन्दै उसले खाता बन्द गरेको हो ।
‘एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ,’ यसका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भनिन्, ‘आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।’
युरोपेली युनियन (ईयू) उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए । ब्रेटोनले युरोपेली युनियनभित्र अवैध सामग्री र दुष्प्रचारमा एक्सको कथित प्रयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।
ईयूको नयाँ डिजिटल सर्भिस कानूनअन्तर्गत एक्स र मेटाको फेसबूकजस्ता ठूला अनलाइन प्लेटफर्मलाई अवैध सामग्री हटाउन र सार्वजनिक सुरक्षाका साथै नागरिक बहसमाथिको खतरालाई सम्बोधन गर्न सक्रिय उपाय अवलम्बन गर्न आवश्यक छ ।
थिएरी ब्रेटोनले गत सोमबार इजराइलमा भएको हमलापछि आफ्नो प्लेटफर्ममार्फत भएका दुष्प्रचारको सामनाका लागि गरिएका कारबाहीका बारेमा जानकारी दिन मेटा (फेसबूक)लाई पनि २४ घन्टाको समय दिएका थिए ।