
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि सहज जीत निकालेको छ । गुजरातको अहमदाबादमा शनिवार राति सकिएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटको सहज जित निकालेको हो ।
यससँगै भारतले एकदिवसीय विश्वकपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानमाथि शतप्रतिशत जीत कायमै राखेको छ । शनिवार आठौं पटक भेट हुँदा पनि भारतले बाजी मारेको हो ।
पाकिस्तानले दिएको प्रस्तुत १९२ रनको सामान्य लक्ष्य घरेलु टोली भारतले मात्र ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले ८६ रनको शानदार अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ६ चौका र ६ छक्काको मद्दतले सो रन बनाएका हुन् ।
यस्तै श्रेयस एयरले पनि अर्धशतकीय पारी खेल्दै अविजित ५३ रन बनाए । सुभमन गिल र विराट कोहलीले समान १६ रन जोडे । केएल राहुल १९ रनमा अविजित रहे ।
पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।
भारतीय बलरको सामना गर्न नसकेको पाकिस्तानले सामान्य १९२ रनको लक्ष्य दिएको छ ।
यसअघि नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले शुरूवात राम्रो गरे पनि मध्यपंक्ति र नचल्दा सस्तैमा समेटिन पुगेको छ ।
निर्धारित ५० ओभरमा पाकिस्तान ४२.४ ओभरमै अलआउट भएको हो ।
पाकिस्तानलाई सस्तैमा रोक्नका लागि भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादव र हार्दिक पाण्ड्या सबैले समान २–२ विकेट लिए ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतकीय पारी खेल्दै ५० र मोहम्मद रिजवानले ४९ रन बनाए । इमाम उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाएका हुन् ।
विश्वकपको लिग चरणमा यी दुई टाेली भिडेका हुन् । भारतले तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान तेस्रो खेलमा आएर भारतसँग हारेको हो । उसले ४ अंक छ ।