०५ साउन २०८३, मंगलबार
सहुलियत कृषि कर्जा

सहुलियत कर्जाबाट व्यावसायिक कृषि– नेपालमै बसेर वार्षिक ६०/७० लाख आम्दानी !

असोज २८, २०८०
काठमाडौं
सहुलियत कर्जाबाट व्यावसायिक कृषि– नेपालमै बसेर वार्षिक ६०/७० लाख आम्दानी !

ललितपुरकी सरिता भट्टराई श्रेष्ठले व्यावसायिक मौरीपालन गर्दै आएकी छन् ।

ललितपुर महानगरपालिका– २४ धापाखेलमा रहेको फार्ममा उनले ३८ जनलाई रोजगारी समेत दिएकी छन् ।

१० वर्षअघि ७० हजार रुपैयाँमा मौरीपालन शुरू गरेकी उनले एनएमबी बैंकबाट सहुलियत कृषि कर्जा लिएर व्यवसाय विस्तार गरेकी हुन् ।

‘१० वर्षअघि ७० हजारबाट शुरू गरेको व्यवसाय अहिले १०/१२ करोडको भएको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘एनएमबी बैंकबाट सहुलियतको एग्रिकल्चर लोन लिएकी छु । व्यवसाय बढाउन यसले धेरै सहयोग पुगेको छ ।’

बैंकको सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै उनले अहिले आफ्नो उत्पादन विदेशमा समेत निर्यात गरिरहेको बताइन् । 

‘उत्पादित मह दुबईदेखि जापान र रसियासम्म निर्यात गरिरहेको छु,’ श्रेष्ठले थपिन् ।

उनका अनुसार यस व्यवसायबाट वार्षिक सरदर ६०/७० लाख आम्दानी हुँदै आएको छ ।

****

‍भक्तपुरका सनिश लगेबु र निरा डुमरुले लामो समयदेखि च्याउ खेती गर्दै आएका छन् । 

साथमा च्याउको बिउविजन उत्पादनको काम पनि उनको फार्ममा हुँदै आएको छ ।

उनीहरूको च्याउ उत्पादन फार्म सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा छ ।

सूर्यविनायक– ५ मा भने उनीहरूले च्याउको बिउबिजन उत्पादन गर्ने गरी फार्म सञ्चालनमा ल्याएका छन् ।

२०५५ सालदेखि सानो ‘स्केल’मा शुरू भएको उत्पादनलाई बढाउँदै अहिले दैनिक ४०० केही हाराहारीमा पुर्‍याएको लगेबुले बताए ।

उनका अनुसार अहिले पन्नी च्याउ दैनिक २०० केजी र गोब्रे च्याउ १५० देखि २०० केजीसम्म उत्पादन हुँदै आएको छ ।

पारिवारिक पेशाका रूपमा शुरू भएको च्याउखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन एनएमबी बैंकबाट लिएको सहुलियत कृषि कर्जाले निकै सहयोग पुगेको उनले बताए ।

‘बैंकको बेसरेटमा २ प्रतिशत जोडेर त्यसमा ५ प्रतिशत घटाई छुटमा लोन उपलब्ध भएको छ । एनएमबीबाट सहुलियतको कृषि ऋण लिएको ३ वर्ष भयो । यसले व्यवसाय विस्तारमा धेरै सहज भएको छ,’ लगेबुले भने ।

अहिले उनको फार्ममा बाह्रैमहिना च्याउ उत्पादन हुन्छ । 

‘पहिला परम्परागत रूपमा थियो, अहिले हाइटेक प्रविधिमा चेम्बर बनाएर व्यावसायिक उत्पादन गर्दै आएका छौं,’ लगेबुले भने, ‘१२ महिना नै च्याउ उत्पादन हुन्छ । बाह्य वातावरणले कुनै असर गर्दैन ।’

परम्परागत रूपमा शुरू गरेको व्यवसायलाई ‘हाइटेक’ प्रविधिमा रूपान्तरण गर्न एनएमबीको सहुलियत कृषि कर्जाले निकै सहयोग पुर्‍याएको उनले बताए ।

****

ललितपुरको गोदावरीका रेशमराज आचार्यले पनि व्यावसायिक तरकारी खेतीका लागि भनेर एनएमबी बैंकबाट सहुलियत कृषि कर्जा लिएका छन् ।

एस.एन. ग्रुप अफ कम्पनिजका नाममा गोदावरीमा तरकारी फार्म सञ्चालनका लागि भनेर उनले सहुलियत कर्जा लिएका हुन् । 

श्रेष्ठ, लगेबु र आचार्य त प्रतिनिधि पात्र मात्र हुन्, एनएमबी बैंकबाट सहुलियत कृषि कर्जा लिनेको संख्या यो समाचार तयार पार्दासम्म १ हजार २१ रहेको बैंकका ‘सस्टेनेबल बैंकिङ हेड’ दिनेश दुलालले लोकान्तरलाई जानकारी दिए ।

‘नेपाल सरकारको सहुलियत कृषि कर्जा कार्यक्रमअन्तर्गत तरकारी, फलफूल, च्याउ उत्पादन, प्रशोधन र भण्डारण, कुखुरापालन, पशुपन्छीपालन, मत्स्यपालन, वनजन्य व्यवसाय, मौरीपालन, प्राङ्गारिक तथा जैविक मल, खाद्यान्न बालीको उत्पादन, प्रशोधन र भण्डारण, उखु, कफी, अलैँची, चियाआदिको उत्पादन, प्रशोधन र भण्डारण साथै शीत भण्डार लगायतका लागि १०२१ जनाले सहुलियत कृषि कर्जा लिनुभएको छ,’ दुलालले लोकान्तरसँग भने ।

उनका अनुसार सहुलियत कृषि कर्जामा बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको छ ।

कति पर्छ ब्याज ?

सहुलियत कृषि कर्जाको ब्याजदर पनि समग्र बजारको समस्त अवस्थाअनुसार घटबढ हुन्छ । 

बैंकको आधार दर (बेस रेट)मा २ प्रतिशत जोडेर ५ प्रतिशत घटाई सहुलियत कर्जा दिने गरिएको दुलालले जानकारी दिए ।

‘अनुदान प्राप्त हुने कर्जामा बैंकको आधारदरमा २ प्रतिशतसम्म प्रिमियम लिने व्यवस्था छ । त्यसमा नेपाल सरकारको ५ प्रतिशत अनुदान पाइन्छ,’ दुलालले भने ।

उनका अनुसार अहिले बैंकको आधार दर १०.०८ प्रतिशत छ । त्यसमा २ प्रतिशत जोड्दा १२.०८ प्रतिशत हुन आउँछ । त्यसबाट सरकारी अनुदानको ५ प्रतिशत घटाएर ७.०८ प्रतिशत ब्याजदरमा कृषिको सहुलियत कर्जा उपलब्ध हुन्छ ।

के हो सहुलियत कृषि कर्जा लिने प्रक्रिया, के–के चाहिन्छ कागजात ?

सर्वप्रथम त सहुलियत कर्जा लिने व्यक्ति १८ वर्ष पूरा भएको (बालिक) हुनुपर्छ । 

साथै, व्यवसाय वा ग्यारेन्टरका रूपमा कालोसूचीमा नपरेको अनि निवेदक वा एकाघर परिवारका सदस्यले ब्याज अनुदानअन्तर्गत अन्य कुनै पनि बैंकबाट अनुदानको ऋण नलिएको हुनुपर्ने व्यवस्था समेत रहेको दुलालले बताए ।

यसका अलावा ऋणको स्केलअनुसार संक्षिप्त व्यापार प्रस्ताव वा विस्तृत व्यापार सम्भाव्यता रिपोर्ट पेश गर्नुपर्ने हुन्छ । प्रस्ताव स्वीकृत भइसकेपछि व्यक्तिगत कर्जा लिने हो भने १० लाखसम्मको सीमा रहेको दुलालले जानकारी दिए ।

१० लाख देखि १ करोडसम्म ऋण लिनका लागि व्यावसायिक फार्मको रूपमा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ । १ करोडभन्दा माथिको सीमाका लागि कम्पनी तथा फार्म दर्ता भएको हुनुपर्ने व्यवस्था रहेको दुलालले बताए ।

सन् २०२१ म बैंक अफ दी इयर एसिया तथा सन् २०१७, २०१८, २०२० र २०२१ म बैंक अफ दी इयर, नेपाल समेत भएको एनएमबी बैंकले देशभरका सबै ब्रान्चबाट सहुलियत कृषि कर्जा लिन सकिने व्यवस्था गरेको छ ।

बेलायतको फाइनान्सियल टाइम्सअन्तर्गत दी बैंकर म्यागेजिनले छनोट तथा अवार्ड गर्दै आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने एनएमबी नेपालको इतिहासमा पहिलो बैंक हो । 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्