
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट शक्तिहरू कमजोर हुँदा काठमाडौंको सडकमा परिवर्तनविरोधी नारा लाग्न थालेको आरोप लगाएका छन् । उनले नयाँ खुलेका दललाई विषालु झारपातको संज्ञा दिए ।
धनगढीमा समाजवादी मोर्चाको सभालाई सोमवार सम्बोधन गर्दै विप्लवले नयाँ दलहरूको नाम नलिई जनताबाट स्थापित दललाई पाखा लगाउने गरी झारपात उम्रिएको आरोप लगाएका हुन् ।
‘गणतन्त्र आएपछि नेपालमा केही विषालु झारपात उम्रिएका छन्, जनतालाई दिग्भ्रमति गरेर दिवा सपना देखिरहेका छन् । बर्खाको च्याउसरी नेपालमा झारपात उम्रिँदै छन्, हामीले गोडमेल गर्ने आँट गर्नुपर्छ । साँच्चिकै बिरुवा जोगाउनु पर्छ,’ विप्लवले भने ।
मिडियाले माओवादी र कम्युनिस्ट शक्तिहरू विखण्डित भए भन्ने खालको बेप्रवाह प्रचार चलाइरहेको उनले आरोप लगाए । ‘नेपालमा कम्युनिस्टहरू सिद्धिन थालेको हो र ? जसले क्रान्ति गर्यो, ती मान्छेहरू लज्जित हुनुपर्ने ? जालिफटाहाले क्रान्तिकारीलाई हेप्ने ? यो हुन सक्दैन,’ विप्लवले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सल्लाह नगरी कालापानीमा आएकोमा उनले आपत्ति जनाए ।
‘भारतमा ठाउँ नपाएर कालापानीमा पूजा गर्न आएका छन् । समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छ, हामीले गर्नुपर्छ,’ विप्लवले भने ।