२६ असार २०८३, शुक्रबार
अनलाइन सञ्चारमाध्यम एकताबद्ध

अनलाइन मिडियाका प्रकाशक एक ठाउँमा, प्रतीक प्रधानको अध्यक्षतामा डिजिटल मिडिया सोसाइटी गठन

असोज ३०, २०८०
काठमाडौं
अनलाइन मिडियाका प्रकाशक एक ठाउँमा, प्रतीक प्रधानको अध्यक्षतामा डिजिटल मिडिया सोसाइटी गठन

नेपालका स्थापित एवं मूलधारका अनलाइन सञ्चार माध्यमहरू एकताबद्ध भएका छन् ।

नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव बढिरहेका बेला यस क्षेत्रमा क्रियाशील सञ्चार संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउन भन्दै डिजिटल मिडिया सोसाइटी स्थापना भएको मंगलवार विज्ञप्तिमार्फत जनाइएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा प्रमाण पत्र प्राप्त गरेको संस्थाको अध्यक्षमा बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान रहेका छन् ।

यसैगरी उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डट्कम)का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू) डट्कमका अध्यक्ष पुष्प दुलाल रहेको विज्ञप्तिमा उल्लेख छ ।

सोसाइटीका कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्रालि (विकास न्यूज डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डट्कम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देश सञ्चार डट्कम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डट्कम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डट्कम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्यूज नेटवर्क प्रालि (रातोपाटी डट्कम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डट्कम)का सञ्चालक सुरेश सिम्खडा रहेका छन् ।

कम्तीमा सञ्चालनको ५ वर्ष पूरा गरेका र न्यूनतम् १५ जना पत्रकारलाई रोजगारी दिइरहेका अनलाइन सञ्चार माध्यमहरू सोसाइटीमा आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

'सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्वर्द्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन्,' विज्ञप्तिमा भनिएको छ, 'सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी कर चुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।'

संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डट्कम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्यूज नेटवर्क प्रालि (रातोपाटी डट्कम)का संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको समेत संस्थाले जनाएको छ ।

विधानका शर्त पूरा गर्ने संस्थाहरूलाई सोसाइटीको सदस्य बन्न आवेदन खुला राखिएको पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्