३० जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

इजरायलमा निधन भएकाको शव ल्याइँदै, जोशीको खोजीकार्य तीव्र

कात्तिक १, २०८०
काठमाडौं
इजरायलमा निधन भएकाको शव ल्याइँदै, जोशीको खोजीकार्य तीव्र

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । एमालेका ३९ र काङ्ग्रेसको ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत लिन लागेका हुन् । 

कार्कीले यसअघि नै विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने विपक्षमा मतदान गन जनाएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न  प्रचण्ड बिहानै त्यसतर्फ प्रस्थान गरेका हुन् । यसअघि मंगलबार प्रधानमन्त्रीले नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । 
००००
इजरायलमा मृत्यु भएका नेपालीको शव २–३ दिनभित्र नेपाल ल्याइने भएको छ ।  पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २–३ दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

साथै, उपलब्ध सम्पूर्ण संयन्त्र तथा माध्यमहरुको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यलाई अझै तीव्र पारिएको पनि दूतावासको भनाइ छ । यसैबीच मंगलबार थप  १८ जना नेपालीको उद्धार भएको छ । 
००००
नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । यसैगरी  शोधनान्तर स्थिति रु.५३ अर्ब ६१ करोडलेबचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
००००
त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी  अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।      
सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान–अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
००००
न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् ।
समाजको मंगलवार सम्पन्न साधारणसभाले मल्ललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा पुगेको हो । 
००००
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि सुरु भएको छ ।   कत्तिक ३ गतेसम्म काठमाडौँमा सम्मेलन चल्नेछ  । 

सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे भने उनले नेपालमा लगानीको अपार सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे । यस्तै मंगलबार नै सरकारले अध्यक्षद्वय बद्री केसी र कुल आचार्यलाई गै।आवासीय नागरिकता प्रदान गरेको छ । 

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्