
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका हुन् ।
बुधवार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए ।
‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें । मैले संयुक्त राष्ट्रसंघको महासभा र रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले विश्वलाई सन्देश दिँदै हिमाल संरक्षण नेपालको मात्र नभएर विश्वकै साझा मुद्दा रहेको स्पष्ट पारे ।
‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन् । जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो,’ उनले भने, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपालजस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।’
कोरला नाकाको विशेष रणनीतिक रहेको प्रष्ट्याउँदै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको जलवायु संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।
‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो । स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्व छ । तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ,’ उनले थपे ।
प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा जलवायु संरक्षणबापत नेपालले अन्तराष्ट्रियवाद क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङमा पठाउने पनि घोषणा गर्नुभयो।