२९ असार २०८३, सोमबार
जेलमा कैदीको दशैं

नातिलाई टीका लगाउँदा होमकुमारीका आँशु अडिएनन्, सुआका भाइ धरधरी रोए

कात्तिक ७, २०८०
काठमाडौं
नातिलाई टीका लगाउँदा होमकुमारीका आँशु अडिएनन्, सुआका भाइ धरधरी रोए

रामेछाप घर भएकी होमकुमारी खत्री नातिलाई टीका लगाउन जेल धाएको यो दोस्रो पटक हो । मंगलवार दिउँसो होमकुमारी आफ्ना छोरा–बुहारीका साथ नातिलाई टीका लगाउन ललितपुरको नख्खु जेलमा आइन् । नागरिकता देखाएर लामो लाइन पार गरेर नातिलाई टीका लगाइदिइन् । नातिसँग एक वर्षपछि दशैंमै भेट भएको थियो ।

आफ्ना छोरा–बुहारीका साथ नातिलाई टीका लगाउन ललितपुरको नख्खु जेलमा आएकी होमकुमारी खत्री ।  

‘के खुसी भन्नुः के दुःखी भन्नु ! नातिलाई टीका लगाइदिँँदा आशु अडिएनन्,’ आँखामा आँशु पार्दै होमकुमारीले जेलबाहिर लोकान्तरसँग भनिन्, ‘नाति पनि धेरै बोल्न सकेन म छिट्टै आउछु मात्र भन्यो ।’ दशैंको टीकाको दिन जेलबाहिर होमकुमारीजस्तै सयौं सर्वसाधारण आफ्ना आफन्त र नातागोतालाई टीका लगाइदिन आएका थिए ।

null

कतिपय बालबालबालिका जेलमा रहेका आफ्ना बुवा–आमासँग टीका लगाउन आएका थिए । दमले ग्रस्त काठमाडौंको चन्दागिरी नगरपालिकाका ६८ वर्षीय सानुभाइ नेपाली नातिनीहरूको सहयोग लिएर नाति आशिष परियारलाई टीका लगाउन आइपुगेका थिए ।

‘नातिलाई टीका लगाइदिएर आएँ, अर्कोफेर घरमै टीका लगाउन पाइन्छ कि भन्ने आस छ,’ नेपालीले लोकान्तरसँग भने । दशैंको टीकाको दिन जेलमा रहेका आफन्तका लागि टीका लगाइदिन कारागार विभागले बिहान ८ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो ।

काठमाडौंको चन्दागिरीका ६८ वर्षीय सानुभाइ नेपाली । जो नाति आशिषलाई टीका लगाउन कारागार आइपुगेका थिए । 

‘छोरोलाई टीका लगाउन आएको हो, टीका लगाइदिए केही बोल्न सकिनँ,’ धादिङबाट आएका एकजना पुरुषले भने । तर, उनले आफ्नो र छोराको परिचय खुलाएनन् । ‘खै के रमाइलो छ भन्नु, छोरो जेलमा छ । छोरालाई टीका लगाएर बल्ल आमासँग टीका थाप्न जाँदैछु,’ उनले भने ।

भाइलाई टीका लगाइदिन मुगुबाट काठमाडौं आएकी सुआ नेपाली । 

जेलमा रहेका आफन्त भेट्ने अवसर भए पनि दशैंको बेला जेलमा आउनुपर्दा धेरैले खिन्नता प्रकट गरेका थिए । भाइलाई टीका लगाइदिन भन्दै सुआ नेपाली मुगुबाट काठमाडौं आएकी छिन् । ‘टीका लगाउँदा भाइ धरधरी रोयो, मैले पनि आँशु थाम्न सकिनँ,’ जेलबाहिर भेटिएकी सुआले लोकान्तरसँग भनिन्, ‘जालसाझी गरेर कसैले फसाए कि जस्तो पनि लाग्छ ।’

सुआका भाइ दीपक नेपाली केही महिनादेखि नख्खु जेलमा छन् । फुपूदिदीसँग बुवालाई भेट्न दीपकका छोरा पनि नख्खु जेल आएका थिए ।

null

जेलमा टीका लगाउन आएका व्यक्तिलाई नाता खुल्ने नागरिकता हेरेर भेट्न र टीका लगाउन दिइएको थियो । जेल परिसरमा त्रिपाल राखेर टीका लगाउने व्यवस्था मिलाइएको थियो । टीका लगाइदिन र आफन्त भेट्न ३० मिनेटको समय तोकिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्