२४ जेठ २०८३, आइतबार

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

कात्तिक ११, २०८०
काठमाडौं
अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ  । 

विश्वका दुई माहशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाबीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।  

ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुवैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढङ्गले व्यवस्थापन गर्न र सञ्चारको  ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन् ।  उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिनु भएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलामा सबैभन्दा पछिल्लो  खुट्किलो हो । पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ । 

राष्ट्रपति बाइडेन र मन्त्री वाङ बीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए ।  प्रवक्ता जोन किर्बीले बताए अनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन् ।

यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजाने बारे स्पष्ट पारेको छैन।

यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वाशिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पुर्‍याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएको सिन्ह्वाले जनाएको छ।

चीनका राष्ट्रपति सीले चीन "पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सहयोग" को तीन सिद्धान्तहरूमा आधारित रहेर अमेरिकासँग काम गर्न इच्छुक रहेको बताएका छन्।

"विश्वका दुई ठूला देश चीन र संयुक्त राज्य अमेरिकाले राज्य-राज्य अन्तरक्रियाको सही मार्ग पत्ता लगाउन सक्छन् कि  सक्दैनन् भन्ने कुरा विश्व शान्ति, विकास र मानवजातिको भविष्यमा आधारित छ,"   राष्ट्रपति सीले उल्लेख गरेका छन् । 

अमेरिका-चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाइ सन्देशमा राष्ट्रपति सीले दुई देश बीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ।

दुई देश बीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वाशिङ्टन आउनु भएको हो । यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाही लगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्