
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर बन्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि परिवर्तनको कारक बनेका विकसित मुलुकहरूलाई दायित्व पूरा गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्ने उनको भनाइ थियो ।
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । आइतवार शीतल निवासमा भएको शिष्टाचार भेटमा उनले सो आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
‘जलवायु परिवर्तनको कारण हामी होइनौ, अरूले अधिक कार्वन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरूलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै पोखरेलले भने, “हामीले त व्यहोर्यौं व्यहोर्यौं अब सारा विश्व र मानवजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौं । त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ ।”
उनले सगरमाथा अन्नपूर्ण आधार शिविरजस्ता ठाउँहरूको भ्रमण स्वयम् महासचिवले गर्ने भएकाले सेतो हिमाल कसरी कालो हुँदैछ, अनावृष्टि र अनावृष्टि के कस्तो प्रभाव परयो भन्ने कुरा महसुस गर्न पाउनुहुनेछ भन्ने विश्वास पनि व्यक्ति गरेका थिए ।
राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पुरा हुने बताएका थिए ।