
आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत आज (सोमबार) पहिलो दिन सोमबार चारवटा खेल हुँदैछन् ।
कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समयानुसार बिहान ९ बजे शुरू हुनेछ ।
विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित सुखद् शुरूआत गर्ने लक्ष्यमा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन कुल चार खेल हुनेछन् । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ ।
यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयानुसार, दिउँसो १:१५ बजे शुरू हुनेछ ।
सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबीच चौथो खेल खेलाइने छ ।
आजदेखि शुरू हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् ।