मुगु ९ असोज– नेपालीहरुको प्रमुख चाड दशैँ शुरु भएसँगै व्यापारीहरुले मुगु सदरमुकाम गमगढीमा खसी र भेडा भित्र्याउन थालेका छन् । घटस्थापनाको दिनदेखि नै खसीको किनबेच शुरु भएको छ ।
एउटा खसीको मूल्य ८ देखी १८ हजार रुपैयाँसम्म पर्ने गरेको छ । मुगुमा भने १ किलो मासुको ६ सय रुपैयाँ बजार भाउ छ । १ वर्षमाथी ४ बर्ष सम्मका खसीको मूल्य फरक भएको ब्यापारीहरु वताउँछन् ।
दशक अगाडिसम्म एउटा खसीको मूल्य १५ सय देखी २ हजारसम्म पर्ने गरेको स्थानीयहरु बताउँछन् । १ किलो मासुको ५० र एक धार्नीमासुको मूल्य २ सय रुपैयाँ पर्थ्यो ।
तर अहिले भने खसी बोकाको भाउ बढेर मासूको मूल्य सुनको जस्तै भएको स्थानीयको भनाइ छ । स्थानीय ब्यापारी सक्कबहादुर शाहीले एउटा खसीको मूल्य १८ हजार रुपैयाँसम्म हालेर किनेको बताए । ‘भेडा खसीको भाउले आकास छुन लाग्यो, खसी किनेर खान पनि लाहुर जानु पर्ने भयो,’ उनी भन्छन् ।

शाहीले ३८ बर्ष यता खसी र भेडाको मासुको ब्यवसाय गर्दै आएका छन् । शाहीले ४० बर्षको हुँदा शुरु गरेको काम ७८ बर्ष पुग्दा समेत निरन्तरता दिइरहेका छन् ।
‘छोरा–छोरीको पढाइको लागि ५ बर्ष यता यसरी नै खसी व्यापार गर्दै आएको छु, खसीको कारोबार गर्न कठिन हुन थाल्यो,’ सुन्दरी– ३ जुम्लाका व्यापारी दलबहादुर बुढाले भने । जुम्लादेखि भेडा खरिद गरेर ३ दिन लगाएर मुगु पुराएका उनले खरिद गर्दानै महंगो परेकोले महंगोमा बेच्नु परेको सुनाए ।
खसी खरिद गर्दा फूट (उचाइ)का हिसाबले साना ठूलाको मूल्य बराबर पर्न जाने व्यापारीहरु बताउँछन् । ६ हजार देखी १२ हजार सम्मका १ सय भेडा भएको बुढाले बताए ।
दशैँको लागि बाजुरा, अछाम, बझाङ्ग, कालीकोट र जुम्ला लगायतका ठाउँहरुबाट खसी र भेडा खरिद गरेर ल्याउने गरेको व्यापारीहरु बताउँछन् ।
केही वर्ष अघिसम्म ५० रुपैयाँ किलो मासु किनेर खाएकोमा अहिले किलोको ६ सय रुपैयाँ पर्ने गरेको मासु व्यवसायी तिलकब हादुर रावलले भने ।
गरीव सर्वसाधारणको लागि दशैँ दशा जस्तै बन्ने गरेको सर्वसाधारणहरु बताउँछन् । कुनै रोजगारी नभएका ज्यालामजदुरी गरेर खानेहरुकोलागि दशैँ मनाउन निकै सास्ती हुने गरेको छ ।
पछिल्ला बर्षहरुका दशैं संस्कृति र परम्पराको जगेर्ना गर्ने हिन्दुहरुको झल्को चिनाउने नभइ निकै खर्चिलो र भड्किलो फेशन बन्दै गइरहेको संस्कृतिविदहरुको चिन्ता छ ।