
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुरुवात गरेको छ ।
मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल–भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मत कार्यको शुरुवात गरिएको एपीएफले जनाएको छ ।
सीमा स्तम्भ मर्मतको शुरुवात गर्दै नायब महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त प्रहरीलाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए ।

यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने उनको भनाइ थियो ।
उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरूमा निरन्तर रुपमा मर्मत कार्य जारी रहने बताए ।
मर्मतका क्रममा स्थानीय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको समेत उनले बताएका छन् ।

यस्तै, उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोगविना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको धारणा राखे ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम शुरू गरिसकेको र गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांश वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एपीएफले जनाएको छ ।
कार्यक्रमबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेको बताइएको छ ।
