
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगर प्रमुख चौधरीसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैसहित ४ जनाविरुद्ध ५५ लाख २ हजार १९८ रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री(मरधर ठेक्का आशिक कन्स्ट्रक्सन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेस नगरी/नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी/नगराइ १७ लाख ६८ हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरेको अभियोग पत्रमा उल्लेख छ ।
स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी/गराई ३७ लाख ३४ हजार १९८ रुपैयाँ बराबर राजस्व हानि नोक्सानी पुर्याई जम्मा ५५ लाख २ हजार १९८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।