
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउन लागेको भन्दै एमालेले सरकार छाड्ने चेतावनी दिएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरेकाको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
‘केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हामीले सहयोग गरेका थियौँ,’ नेता कार्कीले भने, ‘तर उहाँले हाम्रो सहमति बेगर नै मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभयो । यसमा हाम्रो असहमति छ ।’
मुख्यमन्त्री केदार कार्कीले आजै माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका छन् ।
यस्तोमा शनिवार नै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता गर्न सक्ने एमाले संसदीय दलका नेता कार्कीले संकेत गरेका छन् ।
केदार कार्की नेकपा (एमाले)को समर्थनमा नेपाली कांग्रेसका विद्रोह गरेका आफूसहित ८ सांसदको सहयोगमा संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका थिए । तर उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरू पनि विश्वासको मत दिए ।
यस्तोमा सरकारमा गठबन्धनलाई सामेल गर्ने कि एमाले मात्र राख्ने भन्ने निर्णय गर्न नसक्दा उनले सरकार विस्तार गर्न सकेका थिएनन् ।