
एमालेको असन्तुष्टिबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।
उनले आज माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आजै शपथग्रहणसमेत गराएका छन् ।
उनीहरू दुवैले विना विभागीय मन्त्रीको रुपमा नियुक्त भएका छन् ।
केदार कार्की एमालेको समर्थनमा कांग्रेसका विद्रोह गरेका आफूसहित ८ सांसदको सहयोगमा संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका थिए । तर उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरू पनि विश्वासको मत दिए । यस्तोमा सरकारमा गठबन्धनलाई सामेल गर्ने कि एमाले मात्र राख्ने भन्ने निर्णय गर्न नसक्दा उनले सरकार विस्तार गर्न सकेका थिएनन् ।
कार्कीलाई आफ्नै पार्टी कांग्रेसले गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त गर्न निर्देशन दिएपछि आज नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा आबद्ध दुई दलबाट मन्त्री थपेसँगै एमालेले सरकार छाड्ने चेतावनी दिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरेकाको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
‘केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हामीले सहयोग गरेका थियौँ,’ नेता कार्कीले भने, ‘तर उहाँले हाम्रो सहमति बेगर नै मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभयो । यसमा हाम्रो असहमति छ ।’
शनिवार नै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता गर्न सक्ने एमाले संसदीय दलका नेता कार्कीले संकेत गरेका छन् ।