भूकम्पपीडितको उद्धर, उपचार र राहतबारे आवश्यक निर्णय लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आकस्मिक बैठक शुरू भएको छ।
अहिले १० बजेबाट गृह मन्त्रालयमा शुरू भएको बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा निकाय तथा उद्धार संयन्त्रको प्रतिनिधित्व छ।
शुक्रबार राति २३:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्यूडको भुकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेका छन्।
गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टीमहरू समेत घटनास्थलमा पुगिसकेका छन्।
सुरक्षा निकायको स्थानीय मेडिकल टीमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काई ट्रकमार्फत घटनास्थलमा पुगिसकेको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र उपचारमा कुनै कमी हुन नदिन निरन्तर समन्वय गर्दै आवश्यक निर्देशन दिइरहेको उनको सचिवालयले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ४० गरी १३२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । १५५ जना घाइते छन् ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत र सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण यकिन भैनसकेको बताए ।