
गएराति गएको भूकम्पबाट सबैभन्दा बढी जाजरकोटको नलगाड नगरपालिकामा अहिलेसम्म पालिका उपप्रमुखसहित ४९ जनाको मृत्यु भएको छ । वडा नम्बर ४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार वडा नम्बर १ मा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको छ।
वडा नम्बर ३ मा ६, वडा नम्बर ४ मा १, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा ५ र वडा नम्बर ७ मा ५ जनाको मृत्यु भएको हो । 'मेरो वडामा एक जना ७० वर्षीया धनसरी सार्कीको मृत्यु भएको छ ।
मृतकको ४० वर्षीय छोरा खर्कबहादुर र खर्कका छोरा पनि घाइते भएका छन्,' पन्तले लोकान्तरसँग भने,'अहिले भूकम्प प्रभावित वडाहरूमा सबैभन्दा बढी समस्या बस्न र खानको समस्या भएको छ ।'
सबै वडाहरूमा उद्धारको काम जारी रहेको उनले बताए । त्यसैगरी वडा नम्बर ५ का वडाध्यक्ष भविन्द्रबहादुर सिंह पनि आफ्नो वडामा ९ जनाको मृत्यु भएको बताउँछन् ।
९ जना घाइतेहरूलाई उद्धारगरी नगर अस्पताल दल्ली पठाइएको छ भने अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको उनले बताए । 'राति प्रायः सबै जना सुतिसकेको अवस्थामा भूकम्प आएको पत्तै पाएनन्,' सिंहले लोकान्तरसँग भने, 'किसानहरू काम गरेर थाकेका हुन्छन् त्यसैले प्रायः सबै छिट्टै सुत्छन् । भूकम्प आएको थाहै नपाएकाले भत्किएको घरमा पुरिएर धेरैको मृत्यु भएको हो ।'
अहिलेसम्म नगरपालिका भरी ३ सयदेखि ४ सय जनाको जीवित उद्धार गरिएको उनले बताए । स्थानीयवासी, नेपाली सेना, प्रहरीसहित संयुक्त टोली विभिन्न वडामा उद्धारमा खटिएको उनले बताए ।
मानवीय क्षतिको विवरण संकलन हुने क्रम जारी नै रहेको उनले बताए । पशु चौपायाको पनि उलेख्य संख्यामा क्षति भएको उनले बताए।