
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प अझै आउन सक्ने भएकाले सचेत रहन सबै जनतालाई आग्रह गरेका छन् ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको भ्रमणपछि शनिवार दिउँसो नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।
‘विज्ञहरूले फेरि पनि अझ ठूलो भूकम्प जाने सम्भावना इंगित गरिरहेका छन् । यसबारे सरकार सचेत छ,’ उनले भने ।
भूकम्पपछि आजको दिनमा जे गर्नुपथ्र्यो त्यो सबै सरकारले गरेको उनले बताए ।
‘आजको दिनमा जे गर्नुपथ्र्यो गरिएको छ । ३ वटा हेलिकप्टर लगातार उद्धारमा लागेका छन् । डाक्टर नर्सहरू काममा खटिनुभएको छ । आजको काम सफलतापूर्वक गर्न सकिएको महसुस मैले गरेको छु,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आइतवार पाललगायत राहत सामग्री लिएर सरकारी टोली भूकम्प प्रभावित क्षेत्रमा जाने पनि जानकारी दिए ।
जाजरकोटका मुख्य प्रभावित क्षेत्र र रुकुम पश्चिमका भूकम्प गएका ठाउँ प्रत्यक्ष हेरेको बताउँदै उनले आफूसँगै आवश्यक सामग्री लिएर गएको डाक्टर र नर्सको टोलीले काम गरिरहेको जानकारी दिए ।
‘मैले जाजरकोट र रुकुम पश्चिम गएर प्रत्यक्ष हेरेँ । धनजनको ठूलो क्षति भएको छ । सयौंको संख्यामा घाइते र हजारौं घर ध्वस्त भएका छन्,’ उनले थपे ।
प्रधानमन्त्री प्रचण्ड शनिवार बिहान सेनाको हेलिकप्टरमा भूकम्प प्रभावित क्षेत्र गएका थिए । हेलिकप्टरमा भने उनले उद्धारका लागि उतै छोडर जहाजमा फर्किएका छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म १३८ जनाको निधन भइसकेको छ भने कम्तीमा १६६ घाइते भएका छन् ।