०५ असार २०८३, शुक्रबार

सडक मर्मतमा सहयोग पुर्‍याउँदै सेना

कात्तिक १९, २०८०
खोटाङ
सडक मर्मतमा सहयोग पुर्‍याउँदै सेना

नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् ।

दिक्तेलबाट सेकुवाखोलासम्म उक्त सडक कालोपत्र भइसकेको छ । तर बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब दुई सय मिटर सडकमा समस्या हुन थालेपछि शुक्रबारदेखि श्रमदानमार्फत मर्मत गर्न थालिएको हो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए ।

ठेकेदारको लापरवाहीले पटक–पटक अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि खटिएका सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत खर्च गरेर खाजा उपलब्ध गराएका छन् । तीन दिनसम्म चल्ने श्रमदान अभियानमा सवारीसाधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको जनाइएको छ ।

सडक मर्मतका लागि वडाध्यक्ष कठेतको अनुरोधमा निःस्वार्थभावका साथ सहभागी भएको गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्