
चलचित्र ‘पशुपतिप्रसाद’को तेस्रो श्रृंखला निर्माणको घोषणा गरिएको छ ।
निर्माण पक्षले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरेको हो ।
खगेन्द्र लामिछानेको कथा रहने चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् । निर्माताका रुपमा रोजिना सिटौला रहनेछिन् । मुख्य भूमिकामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपीन कार्की लगायतका कलाकार रहनेछन् ।
‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ : भस्मे डन’का अपूरा र छाडिएका पात्रहरूको कथा तेस्रो श्रृङ्खलामा समावेश गरिने जनाइएको छ ।
खगेन्द्रको कथा, दीपेन्द्रको निर्देशन रहेको चलचित्र ‘पशुपतिप्रसाद २ः भष्मे डन’ दशैंको अवसर पारेर प्रदर्शनमा आएको थियो । चलचित्रले घरेलु बक्सअफिसबाट लगानी उठाएर मुनाफामा गइसकेको निर्माण पक्षले जनाएको छ ।